वैदिक इतिहासमा वर्ण परिवर्तनका प्रमाणहरु

१.ऐतरेय ऋषि दास अथवा अपराधीका छोरा थिए तर, आफ्नो गुणले उच्चकोटिका ब्राह्मण बनेर उनले नै ऐतरेय ब्राह्मण र ऐतरेय उपनिषदको रचना गरे । आज ऋग्वेदलाई राम्रो बुझ्नका लागि ऐतरेय ब्राह्मण नपढी नहुने पुस्तक बनेको छ । २.ऐलूष ऋषि दासीका छोरा थिए । उनी जुवाडे र व्यभिचारी थिए । तर पछि गएर अध्ययन गर्दै ऋग्वेदको अनुसन्धान गरी अनेक आविष्कारहरु गरे । त्यसबेला नामुद ऋषिहरुले उनलाई बोलाएर आचार्य पद प्रदान गरेका थिए । (ऐतरेय ब्राह्मण २/१९) । ३.सत्यकाम जाबाल गणिका (बेश्या) का छोरा थिए । तर, उनी ब्राह्मण भए (छान्दोग्य उपनिषद खण्ड ४/४) । ४.राजा दक्षप्रजापति स्वयम् ब्रह्माजीका छोरा थिए भने गुणले उनी राक्षस बने । उनको छोरो पृषध आफ्नो कर्मको कारण शुद्र बनेका थिए । तर, प्रायश्चितको तपस्या गरेर उनले ब्राह्मणसरह मोक्ष प्राप्त गरे (विष्णु पुराण ४/१/१४) । रामायणमा पछि जोडिएको मिथक अनुसार शुद्रले तपस्या गर्नै नपाउने भए पृषधले कसरी तपस्या गर्नसक्थे ? पृषधकै भाइ प्रह्लादको अर्को प्रसंग पनि यहाँ जोड्न सकिन्छ । ५.राजा नेदिष्टका छोरा नाभाग वैश्य बने, पुनः उनका केही छोराहरु क्षेत्रीय वर्णका भए (विष्णु पुराण ४/१/१३)। ६.धृष्ट नागकै छोरा थिए तर, उनी ब्राह्मण बने र उनका छोराहरु फेरि क्षेत्रीय बने । त्यसको धेरै समयपछि फेरि पनि त्यही वंशका केही ब्राह्मण भए (विष्णु पुराण ४/२/२) । ७.भागवतका अनुसार राजपुत्र अग्निवेश्य ब्राह्मण बने । ८.विष्णुपुराण र भागवत दुवैले बताए अनुसार रथोत्तर क्षेत्रीयबाट ब्राह्मण बनेका थिए । ९.हरित क्षेत्रीय पुत्र भएर पनि ब्राह्मण बनेका थिए (विष्णुपुराण ४/३/५) १०.क्षेत्रीय कुलमा जन्मिएका शौनकले ब्राह्मणत्व लिए । वायुपुराण, विष्णुपुराण र हरिवंश पुराणमा उल्लेख भए अनुसार शौनक ऋषिका छोराहरु कर्मभेदले ब्राह्मण, क्षेत्रीय, वैश्य र शुद्र चारै वर्णमा बाँडिएका थिए । ११.मातंग चण्डालपुत्रबाट ब्राह्मण बनेका थिए (महाभारत राजधर्म अध्याय २७ )। १२.ऋषि पुलस्त्यका नाति, महापण्डित विश्रवाको छोरो रावण आफ्नै कर्मको कारण राक्षस बनेका थिए । १३.देवराज रघुका छोरा प्रवृद्ध राक्षस बनेकाथिए। १४.त्रिशंकु राजा भएरै पनि व्यवहारको कारण चाण्डाल बनेका थिए। १५.ऋषि विश्वामित्र क्षेत्रीय भएर पछि ब्राह्मण बनेका थिए भने उनका सन्तानले शुद्र वर्ण अपनाएका थिए । १६.विदुर दासीका छोरा थिए तर, ब्राह्मण बनेर हस्तिनापुर साम्राज्यको मन्त्री पद प्राप्त गरे । यस्ता उदाहरणहरुले हामीलाई के बताउँछन् भने वैदिककालीन वर्णाश्रममा वर्ण परिवर्तनको छुट वा प्रबन्ध मिलाइएको थियो । यस अर्थमा जन्मैबाट कोही पनि वर्णमा निर्धारित हुँदैन थियो । मनुस्मृतिमा पनि वर्ण परिवर्तनको स्पष्ट आदेश छ (मनुस्मृति १०/६५) । ब्राह्मण शुद्र अनि शुद्र ब्राह्मण हुनसक्छ । यसरी नै क्षेत्रीय र वैश्यका सन्तान पनि बदलीन सक्छन् । अथवा चारै वर्णका मानिसहरुले आफ्नो कार्यव्यापार फेरेर आफ्नो वर्ण (वा जात) बदलीन सक्छन् । स्वयम् ब्रह्माजीको कथनको हवाला दिएर महाभारतको दान-धर्म अध्याय १४३/४७-ले बताएको छ,‘शुद्रले पनि जितेन्द्रिय बनेर पवित्र कर्मद्वारा अनुष्ठान गर्दै अन्तस्करणलाई शुद्ध बनाउन सक्तछ र ऊ द्विज वा ब्राह्मणको पदमा आसीन हुन लायक छ ।’ “जन्मना जायते शुद्र: संस्कारों द्विज उच्यते। वेद पाठी भवेद् विप्र: ब्रह्म जानेति ब्राह्मण: ।।” यस्कमुनिको यो भनाइको अर्थ हो,‘जन्ममा सबै मानिस शुद्र हुन्छन् । संस्कारले उनीहरु द्विज हुन्छन् । वेद पढेर विप्र हुन्छन् र ब्रह्मज्ञान प्राप्त गरेपछि ब्राह्मण बन्दछन् ।’ गीता र उपनिषद्हरुमा पनि सोही कुरा बारम्बार उल्लेख गरिएको छ । शुभसंस्कार र अध्ययनले शुद्र ब्राह्मण बन्दछ भने दुराचारी ब्राह्मण शुद्र बन्दछ (ब्रह्म पुराण २२३/४३) । जसमा सत्य, परोपकार, सिर्जनात्मक अठोट, क्रोधहीनता, लज्जा, दया र सद्भावजस्तु गुणहरु छन् तिनै गुण ब्राह्मण हुनुका लक्षण हुन् (महाभारत शान्तिपर्व अध्याय ८८/४) । वंशले ब्राह्मण पिताको वीर्य र ब्राह्मणी आमाको गर्भबाट उत्पन्न हुनु नै ब्राह्मण हुनुको सिफारिश प्रमाण पत्र होइन, संस्कार, अध्ययन, वेद श्रवण, तत्व ज्ञानमीमांसा र अन्य सदाचारबाट मात्र व्यक्ति ब्राह्मण बन्नसक्छ (महाभारत अनुशासन पर्व १४३/५१) । # भक्त घिमिरेको लेखबाट साभार